एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३ सय ५६ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।

एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिएका छन् । उनले भने, ‘राष्ट्रिय सडक सञ्जालमा जोडिएको अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार-प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।’

यस्तै, सन् २०२२ मा ६५ हजार ९ सय ४०, सन् २०२१ मा २ हजार ३ सय र २०२० मा २ हजार ३ सय ४७ पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए । सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १ सय ९० सार्क राष्ट्रका र १८ हजार १ सय ६६ तेस्रो मुलुकका छन् । १० हजार ७ सय ३३ पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताएका छन् ।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति ३ हजार तोकिएको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको संख्या भने घट्दै गएको छ । पर्यटकको संख्या घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्