भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर नेपाल भ्रमणमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । नेपाल-भारत संयुक्त आयोगको ७औँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर (आज) बिहीबार बिहान नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरेका छन् । संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षी डा.जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री डा.जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ । बिहीबार दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले उनी र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री डा.जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुन:निर्माण परियोजनाको उद्घाटन गर्नेछन् । विदेशमन्त्री डा.जयशङ्कर पुस २० गते नै स्वदेश फर्कीने भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्