भरतपुर महानगरपालिकाद्धारा १० हजार किसानलाई दूधमा अनुदान दिँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई ६ करोड ३७ लाख रुपैयाँको अनुदान दिन लागेको हो ।

उनीहरुले २ करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने भएका छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर रु एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर रु तीन अनुदान दिइँदै छ । गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ । बजेटमा रु ५ करोड ५० लाख दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो । किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ । अघिल्लो वर्ष दूधमा अनुदान रु ५ करोड १० लाख दिइएको थियो । दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । उनले भने, ‘अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्याइनेछ ।’ अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताएका छन् । उनले भने, ‘हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित भएका छन् ।’ कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले जानकारी दिएका छन् ।

महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पुर्याइने उनले जनाएका छन् । चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि रु ८ करोड विनियोजन गरेको थियो । पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युत्को ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

पशुचौपायलाई नाम्ले जुकाको औषधि नि:शुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ । निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्