स्काभेटरमा आगजनी गर्ने ५ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका-९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो । गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका-४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट रु ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिएका छन् ।

यस्तै, गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु ८० लाखबराबरको क्षति भएको थियो । गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश-३-०१-००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु १ करोड बराबरको क्षति भएको थियो । प्रहरी निरीक्षक मिश्रले भने, “सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ ।

आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका-५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका-९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई रहेका छन् । पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्