देवघाटमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो ।

गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो । बेनीमा गलेश्वर आश्रममा गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर आश्रमका पिठाधीश १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरी जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो ।

सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानालगायत क्षेत्र विकास समितिका सदस्य, आश्रमका बटुकको ठूलो उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका सदन बरालले बताएका छन् ।  यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यस वर्ष विधिपूर्वक मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउनेक्रम सुरु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले माघेसङ्क्रान्ति मेलाका अवसरमा आइतबार र सोमबार नारायणगढ-मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिएका छन् । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो । सङ्क्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो ।

आइतबार राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्