काठमाडौँ महानगरद्धारा ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्न लागेको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले सो तालिम प्रदान गर्न लागेको हो ।

गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरूप साइबर सेक्युरिटीमा मात्रै ४ हजार जनशक्ति उत्पादन गर्न लागेको हो । साइवर सुरक्षा सीप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सीपबाट रोजगार क्षेत्रमा आबद्ध हुन सकिन्छ ।

यस्तै, महानगरको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरूलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’ गत वर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरूले देखाएका छन् । यस प्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिने उनले जानकारी दिएका छन् ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन । उनले भने, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरू थाहा नपाई अरूले दुरुपयोग गरिरहेको हुनसक्छ । कहिलेकाहीँ सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ ।इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौँ ।’

साइबर सेक्युरिटीसम्बन्धी तालिम माघ २ गतेबाट सुरु हुने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्