सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौरको द्दश्य, तोरी फुल्ने याममा पर्यटकको आकर्षण बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौर चार-पाँच वर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष र माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीय स्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये । पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटक आउन थालेका छन् ।

रत्नेचौरको भानु माविका पूर्व प्रधानअध्यापक रहेका स्थानीयवासी टीकाबहादुर महत रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यम भएको बताएका छन् । ‘रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,’ उनले भने ‘रत्नेचौरको फाँटको बिचमा रहेको सडक विसं २०७७ मा कालोपत्र भयो । पहिला प्रवद्र्धन गर्ने प्रविधि थिएन् । सबैको हातमा प्रविधिको पहुुँच पुुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुुन्दर ठाउँ चिनिएका छन् ।’ समथर फाँट र बस्ती रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ । कालोपत्र सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनुु रत्नेचौरको विशेषता हो ।

यस्तै, सामाजिक सञ्जालमा देखेको दृष्य र तस्बिरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनिसा पुनले जानकारी दिएका छन् । उनले भने, ‘तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथी मिलेर आएका हौँ । एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ ।’ बेनी र बागलुङ बजारदेखि १५-१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुुम्न बालबालिका, युुवा युवतीदेखि पाका उमेरका पनि आउँछन् । दैनिक २ सयदेखि ५ सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुुशल शर्माले जनाएका छन् । ‘बिदाको दिन तोरीबारी हेर्न आउनेको घुुइँचोनै लाग्छ,’ उनले भने ‘अन्य समयमा पनि पर्यटक निरन्तर आइरहेका छन् ।’ म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै व्यापार व्यवसायको अवसर सिर्जना भएको छ ।

रत्नेचौरको फेदी भुुवानेमा दुुई वटा होटल र रेष्टुुरेन्ट खुुलेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेका लागि नयाँ आकर्षण थपिएको छ । परम्परागत रुपमा हुँदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएको बेनी नगरपालिका-१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुुर थापाले बताएका छन् । ‘रत्नेचौरलाई कृषि पर्यटनको गन्तव्य बनाउने योजना अघि सारेका छौँ,’ उनले भने ‘श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुङ्गे पुल, बुढोपोखरी रहेको रत्नेचौरको सम्भावना उजागर गर्न तोरी महोत्सव गर्ने योजना छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्