काठमाडौँ महानगरद्धारा ६ महिनामा करिब ५ अर्ब राजस्व असुल !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा रू ४ अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको हो ।

अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ करोडले बढी राजस्व असुल भएको काठमाडौँ महानगरपालिकाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी बहाल करमा रू १ अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा रू ६७ करोड १७ लाख २० हजार असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । काठमाडौँ महानगरले चालु आर्थिक वर्षका लागि करिब रू १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा भने रू ९ अर्ब ८ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो । विगतका केही वर्ष कोरोना महामारीकाकारण आशा अनुरुप कर असुल हुन नसकेपनि चालु आर्थिक वर्षमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जनाएका छन् । चालु आर्थिक वर्षमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो । यसवर्ष महानगरका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ ।

यस्तै, पछिल्लो समय कामपाले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताएका छन् । महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका-२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ ।

लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारेसमेत उल्लेख गरेको हुनुपर्ने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्