खानेपानी मन्त्रालयद्धारा मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न अपिल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ । खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना जारी गर्दै मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न अपिल गरेका हुन् ।

‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ । पुराना पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि ‘फ्लसिङ’ सँगै क्रमस:सफा पानी प्रवाह हुने छ । खानेपानीको गुणस्तरमा शङ्का नगर्न र बाहिरी हल्लाको पछि नलाग्न मन्त्रालय र मन्त्रालय मातहत खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरु सबैमा हार्दिक अपिल गर्दछ’, मन्त्रालयद्वारा बुधबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो पटक सोमबारदेखि वितरण गरिएको मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शङ्का लागेको भन्ने समाचार आएपछि मन्त्रालयले बुधबार यस्तो अपिल गरेको हो । यसैबीच, मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्नसमेत सो सूचनामा आग्रह गरेको छ ।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्