घरेलु तथा साना १ सय ४० वटा उद्योग बन्द !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । घरेलु तथा साना १ सय ४० वटा उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका १ सय ४० वटा उद्योग बन्द भएका हुन् ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको थियो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताएका छन् । साथै, ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले जनाएका छन् । सोही समयमा व्यावसायिक फर्महरु १ सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिएका छन् । व्यावसायिक फर्मतर्फ २ सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९-८०मा व्यवसाय बन्द गर्नेको सङ्ख्या ४ सय ३४ रहेको थियो । त्यसैगरी ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९-८० मा २ सय ६९ वटा उद्योग बन्द भएका थिए ।

खनालका अनुसार गत आर्थिक वर्षमा ८ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताएका छन् । उद्योग सञ्चालन गर्ने तर त्यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनको भनाइ छ । उनले भने, ‘पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।’ आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेको खनालले जानकारी दिएका छन् ।

कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको सङ्ख्या बढेको उनले बताएका छन् । चालु आर्थिक वर्षमा १ सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा १ सय ११ वटा दर्ता भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्