‘पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ’: मन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रुपमा विकास गरिने जानकारी दिएकी छिन् । ‘विगतमा सरकारी स्वामित्वका सञ्चार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौँ’, उनले भनिन् । उनले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन-प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभइ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पुर्याउने दोहोरो माध्यमका रुपमा रहेको बताएकी छिन् ।

आमसञ्चार क्षेत्रको पुन:सरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको उनको भनाइ छ । साथै, सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको उनको भनाइ थियो । उनले आमसञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको जनाएकी छिन् ।

मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखापर्न खोजिरहेका उशृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण-प्रकाशनमा जोड दिन आवश्यक रहेको बताएकी छिन् । नेपाल टेलिभिजनको समय सापेक्ष विकास, विस्तार एवं रुपान्तरणमा सरकार सदैव तत्पर रहेको जानकारी दिँदै उनले चार दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाल टेलिभिजन आगामी दिनमा अझ सुदृढ र लोकप्रिय प्रसारण माध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गरेकी छिन् ।

सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगरे टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको शर्माको भनाइ छ । उनले चुस्त र स्वच्छ व्यवस्थापनबाट सञ्चालन लागतलाई प्रभावकारी बनाई सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन आग्रह गरेकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्