चितवनबाट वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यस वर्ष १५ हजार ८ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएको पाइएको छ ।

श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेलले बताएका छन् । ‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ’, उनले भने ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो’, उनका अनुसार ‘भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार ५ सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।’ आर्थिक वर्ष २०७९-२०८०मा नेपालबाट ७ लाख ७१ हजार ३ सय २७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै १ लाख १६ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८ सय २३ जना छन् । धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जनाएका छन् । त्यहाँबाट अघिल्लो आर्थिक वर्षमा १ हजार १ सय ६१ जनाले राहदानी बनाएका थिए । चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार ५ सय ६१ जनाले श्रम स्वीकृत लिएका छन् । माडी नगरपालिकाबाट २ हजार १ सय २७, इच्छाकामना गाउँपालिकाबाट १ हजार ८, रत्ननगर नगरपालिकाबाट १ हजार ४ सय ७१, कालिका नगरपालिकाबाट १ हजार ६ सय ७९, खैरहनी नगरपालिकाबाट १ हजार ६ सय ८ र राप्ती नगरपालिकाबाट १ हजार २ सय ९१ जनाले श्रम स्वीकृत लिएका छन् ।

वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिने समस्या रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आर्थिक पर्षमा १ सय ३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्न भरतपुर महानगरपालिका लागि परेको उपप्रमुख चित्रसेन अधिकारीले बताएका छन् । ‘अवैधरुपमा विदेश जानेको सङ्ख्या पनि कमी छैन । भारतमा जानेको सङ्ख्या उत्तिकै छ’, उनले भने, ‘हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जङ्गललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौँ ।’ वैदेशिक रोजगार देशव्यापी समस्या रहेको उपप्रमुख अधिकारीले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्