बलात्कारको आरोपमा थुनामा रहेका बन्दी मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६का १९ वर्षीय देवेन्द्र मण्डल आइतबार मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिएका छन् ।

उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो । गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए । बालिकालाई घरबाट जबरजस्ती तानेर ५ सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएक थिए ।

यस्तै, हनुमाननगर कंकालिनी-६का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेको पीडितका बुवाको भनाइ थियो । जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो । पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासको भनाइ छ । परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने दासले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्