पश्चिम नवलपरासीमा खानेपानीको करिब ४० लाख महसुल अझै उठ्न सकेन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब रु ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो ।

समितिले खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिनेसमय सीमा निर्धारण गरेको थियो । सो समयभित्र ३ लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ । रु ४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली सार्वजनिक गर्ने चेतावनी दिएको थियो । तर, १५ दिनको अवधिमा रु ३ लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले जानकारी दिएका छन् । अझै रु ४० लाख महसुलबापतको रकम उठन् बाँकी छ ।

यसबीचमा समितिले वडा नं १ र २मा तीनजना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ । स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेकोे समितिले जनाएको छ । तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन । समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौवटा धारा यसअघि नै काटेको थियो । समितिले रामग्राम वडा नं १ र ६मा रहेका दुईवटा खानेपानी ट्याङ्कीमार्फत १ हजार ७ सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ ।

पोखरापालीमा रहेको ट्याङ्कीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । तर, कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्