कारगारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ: मुख्यमन्त्री कार्की

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रुपमा लिनुपर्ने बताएका छन् । जिल्ला कारागार मोरङद्वारा आइतबार कारागार परिसरमा आयोजित ‘डवल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनलेत्यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिएका छन् । मुख्यमन्त्री कार्कीले सरकारले कारगारमा दिने परम्परागत सीपलाई आधुनिकीकरण गर्न प्राविधिक अध्ययन गरिरहेको जानकारी दिँदै बन्दीद्वारा उत्पादित सामग्रीको बजारीकरण तथा पहँच विस्तार गरिने दृढता व्यक्त गरेका छन् । उनले बन्दीहरुको मानव अधिकारको संरक्षण, स्वास्थ्य सेवा, कानुनी सहायताका सम्बन्धमा प्रदेश सरकारले चाँडै अवधारणा ल्याउने तयारी गरिरहेको बताएका छन् ।
यस्तै, मुख्यमन्त्री कार्कीले कारागारलाई होस्टलका रुपमा सम्झन आग्रह गर्दै त्यहाँबाट सिकेका सीपलाई साना उद्यमीका रुपमा विकास गर्नुपर्ने भन्दै आवश्यक पूँजीको व्यवस्थाका लागि सरकारले सहजीकरण गर्ने जनाएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहालले कैदीबन्दीको सेवा सुविधा वृद्धि, थप बजेटको व्यवस्था, नीति निर्माणमा जोड दिएको बताएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ कारागारका प्रमुख कृष्णहरि न्यौपाने कैदीबन्दीको सेवा सुविधा वृद्धिका लागि आवश्यक पहल भइरहेको जानकारी दिएका छन् । सोही अवसरमा कैदीबन्दीले महानिर्देशक दाहाल समक्ष आफ्नो समस्या राखेका थिए ।
मोरङ कारागारमा हाल ९९ महिला (चार जना बालबालिका आश्रित)सहित १ हजार ३८ कैदीबन्दी छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्