सामूहिक व्रतबन्धबाट विद्यालयलाई आर्थिक स्रोत जुटाउन ५ लाख रुपैयाँ सङ्कलन !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटमा सञ्चालित सहिद जगतप्रकाशजङ्ग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५ बटुकको सामूहिक व्रतबन्ध गरिएको छ । विद्यालय सञ्चालनको लागिसमेत आर्थिक स्रोत जुटाउन वसन्त पञ्चमीका अवसरमा आयोजित सामूहिक व्रतबन्धबाट रु ५ लाख सङ्कलन गरिएको हो ।

सामूहिक व्रतबन्धमा सहभागी बटुकबाट विद्यालयले प्रतिबटुक रु ६ हजार सेवा शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले जानकारी दिएका छन् । उनका अनुसार बटुकसँग लिएको शुल्क र सङ्कलित भेटीबाट विद्यालयकले निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइन्छ । ‘न्यूनतम शुल्कमा पूर्ण धार्मिक विधिअनुसार बटुकलाई चाहिने पोसाक र भोजनको समेत उपलब्ध गराइएको छ’, अध्यक्ष डङ्गोलले भने, ‘अभिभावकलाई आर्थिक भार कम गराउन र सामूहिक भावनाको विकासमा समेत सहयोग पुर्याएको छ ।’

यस्तै, विद्यालय सञ्चालनको लागि वैकल्पिक स्रोतको खोजीको लागि हरेक वर्षजस्तै यस वर्ष पनि वसन्त पञ्चमीको अवसरमा सामूहिक व्रतबन्ध गरिएको प्रधानध्यापक मञ्जु चित्रकारको भनाइ छ । उनका अनुसार यस अभियानले समाजमा हुने भड्किलो परम्परा नियन्त्रण गर्न र हिन्दू संस्कृतिको रक्षा गर्न उल्लेख्य योगदान पुगेको छ । सामूहिक व्रतबन्ध गर्न नुवाकोटसहित रसुवा, धादिङ, चितवन, गोरखालगायतका जिल्लाबाट बटुकको सहभागिता रहेको थियो । बटुकको व्रतबन्धमा सोही विद्यालयका पण्डित गोकुल सापकोटाको नेतृत्वमा रहेको १४ जना पण्डित-विद्यार्थीको सहभागिता रहेको थियो । विसंं २०५५मा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा दशसम्म अध्यापन हुने गरेको छ ।

विद्यालयले नि:शुल्क आवासीय सुविधासहित संस्कृत भाषाको अध्यापन गराउन आर्थिक स्रोतको अभाव भएसँगै हिन्दू धर्मावलम्बीको पर्व नाग टाँस्न, रक्षा बन्धन गराउन, घरघरमा कुस भित्र्याउन, पितृ तर्पणलगायतका गतिविधिमा विद्यालयका शिक्षक-विद्यार्थीमार्फत सेवा दिएर आर्थिक स्रोत जुटाइने गरिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्