महोत्तरीका होटल व्यवसायीद्धारा बर्दिबासमा सडक खाना महोत्सवको आयोजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सवको आयोजना गरेका छन् । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव-२०८० आयोजना गरेका हुन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरेका छन् । पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर ५ सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग र अत्यन्त चल्तीको बीपी राजमार्ग (बर्दिबास-सिन्धुली-बनेपामार्ग)को सङ्गममै सुरु गरिएको महोत्सवले बर्दिबासको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुचि बढाउन सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा छ ।महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडीलगायतका स्थानीय परिकार, छेनाको जिलेवी, विभिन्न मिष्टान्न परिकार, नेवारी खाजा सेट र अन्य मुलुकका लोकप्रिय परिकारका स्टल राखिएका छन् ।

सोमबारसम्म चल्ने महोत्सवमा व्यवसायीमात्र नभएर निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास-११ खयरमाराका होटल म्यानेजमेन्ट तथा फुड एण्ड डेरी विषयका विद्यार्थी, नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास-८ हाथीलेटका होटल व्यवस्थापन विषयका छात्र-छात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाइरहेका छन् ।

महोत्सवमा ५० कक्ष छन् । प्रत्येक कक्षले भिन्नभिन्न परिकार तयार गर्ने हुँदा कक्षपिच्छे अवलोकनकर्ताले भिन्न परिकार हेर्ने र चाख्ने अवसर पाएका छन् । महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिएको सङ्घका महासचिव नारायण घिमिरेको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्