आइतबार मधेस प्रदेश सभाको बैठक बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिँदै छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यसका लागि आइतबार २ बजे प्रदेश सभाको बैठक बोलाइएको हो ।

यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुन:३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ को धारा १८८को २मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।

मधेस प्रदेश सरकारमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले)को २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र)को नौ र नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाको भनाइ छ ।

मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा (एस) रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्