स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबारबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा(रुबेला खोप अभियान २०८०-८१ को शुभारम्भ गरेका छन् । भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गर्दै देशभर एकैसाथ अभियानको उद्घाटन गरेका हुन् ।
मन्त्री बस्नेतले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा-रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न देशभरका स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गरेका छन् । आइतबारबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुने सो अभियान प्रभावकारी ढङ्गले देशैभरी सञ्चालन हुनेमा आफू विश्वस्त रहेको भन्दै उनले कर्मचारीले इमान्दारिपूर्वक काम गर्न आग्रह गरेका छन् । अभियानको शुभारम्भ मध्यपुरथिमिबाट भएको भन्दै उनले भक्तपुरले यहीँ अभियानमा शतप्रतिशत खोप लगाएर देशकै नमुना जिल्ला बन्नुपर्नेमा जोड दिएका छन् ।
तराई र काठमाडौँ उपत्यका दादुरा-रुबेलाको उच्च जोखिममा रहेको भन्दै मन्त्री बस्नेतले पहिला खोप लगाएकाहरुले पनि पुन:खोप लगाउन र खोप लगाउन छुटेकालाई पनि पहिचान गरेर खोप लगाउन निर्देशन दिएका छन् । मन्त्री बस्नेतले भने, ‘यो खतरनाक रोग हो । यसबाट बालबालिकाको मृत्यु पनि हुनसक्छ, एकजना बिरामीले १८ जनालाई रोग सार्न सक्छ । विद्यालयबाट यो रोगको सङ्क्रमण फैलिए महामारीको रुप लिन्छ ।  त्यसैले शिक्षा दिने थलो विद्यालयबाटै यो अभियान सुरु गरेका छौँ, नियमित खोप लगाएकाहरुले पनि यो खोप दिनुपर्छ ।’
यस्तै, खोप लगाउनुपर्छ भन्ने बारेमा अझै पनि जनचेतनाको कमी रहेकाले स्थानीय तहले जनचेतना जगाउँदै विद्यालय, टोल र आवश्यक परे घरघरमा गएर भए पनि खोप लगाएर अभियानलाई पूरा गर्न उनले आह्वान गरेका छन् । मन्त्रालय एक्लै लागेर मात्रै अभियान सफल हुदैन भन्दै उनले सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको औँल्याएका छन् । आफू स्वाथ्यमन्त्री भएर आएपछि स्वास्थ्यको क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकाबीच त्रिकोणात्मक समन्वय गराएर काम गरिरहेको भन्दै सरकारको लक्ष्य पूरा गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री बस्नेतको भनाइ छ ।
उनले सहरी क्षेत्रमा बसाइ सरेर आएका र जानेमा खोप लगाउन ध्यान केन्द्रित गर्दै शतप्रतिशत खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै अभियान सफल पार्न सबै निकायलाई आग्रह गरे । कार्यक्रममा भक्तपुरका सङ्घीय सांसद दुर्लभ थापाले खोप अभियानलाई सफल पार्न स्थानीय तह र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहने भएकाले यी निकाय सक्रिय हुनुपर्ने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्