गायक तथा सङ्गीतकार आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरिँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ ।

प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ । प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको जनाएका छन् । साथै, केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

त्यसैगरी भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो । उनलाई हिजो अपराह्न ४ बजे अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो । प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत-सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैँ खड्किरहने बताएका छन् ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै छन् । उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्