नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो ।

उक्त टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र सर्वपक्षीय पहल थालिरहेको उपप्रशासक विनयकुमार पोख्रेलले जनाएका छन् । उनका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री दाहालले आवश्यक अध्ययन गरेर समाधान गर्ने प्रतिबद्धता जनाएको उपप्रशासक पोख्रेलले बताएका छन् । विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको १ हजार ६ सय ६२ बिघा जग्गा छ । तीमध्ये लमहीको सतबरियामा १ सय ६८, राजपुरमा १ हजार १ सय ३२, तुलसीपुरस्थित बेलझुण्डीमा तीन सय २६ र गढवाको गोबरडिहामा ३६ बिघा जग्गा रहेको उपप्रशासक पोख्रेलको भनाइ छ ।

यस्तै, उनका अनुसार ती सबै जग्गा अतिक्रमणमा परेका छन् । विसं २०५७ भन्दाअघि जग्गाको आयस्ता पनि विश्वविद्यालयले पाउने गरेको थियो । त्यसपछि विश्वविद्यालयले कुनै पनि जग्गाको आयस्ता पाउन नसकेको जनाउँदै आएको छ । पहिले आयस्ता बुझाउने सर्त रहेपनि अहिले नबुझाएको उपप्रशासक पोख्रेलले जानकारी दिएका छन् ।

नक्कली मोहीले समस्या:

जग्गामा मोही रहेपनि समस्या समाधान गर्न आफूहरु तयार रहेको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताएका छन् । नक्कली मोही खडा हुँदा समस्या भइरहेको उनको भनाइ छ । ‘खासमा मोही भनेको चार सय आठ बिघा जग्गामा मात्रै हो’, अधिकारीले भने, ‘अहिले नक्कली मोही खडा हुँदा समस्या उत्पन्न भएको छ ।’ राजनीतिक दलहरुले समस्या समाधान गर्न चाहेमा समाधान छिटो हुने उनको बुझाइ छ । उनका अनुसार अहिले उक्त जग्गामा ३० वटा पक्की घरसमेत बनिसकेका छन् ।

त्यस्तै, विश्वविद्यालयको जग्गा भएको ६ धूरमा एक जना मात्रै सुकुम्बासी रहेको भन्दै अरु कोहीपनि सुकुम्वासी नरहेको उनले दाबी गरे । ‘जग्गामा तेरो-मेरो भन्ने अवस्था सृजना भएको छ’, उनले भने, ‘हामीसँग लालपुर्जा छ । उनीहरुले पनि लालपुर्जा छ भनेपनि अहिलेसम्म देखेका छैनौँ ।’

समाधानका प्रयास:

विसं २०७४ मा स्थानीय तहको निर्वाचन हुनुपूर्व जग्गाको विषयमा उत्पन्न समस्या समाधानका लागि विश्वविद्यालयका तीन कर्मचारी खटाएर त्यहाँका किसानको फाराम भर्ना लगाइएको थियो । किसानको फाराम भरिसकेपछि कार्यालय खोलेर समस्या समाधान गर्न खोजिए पनि स्थानीय चुनाव नजिकिँदै गरेकाले आचारसंहिता लागेपछि कार्यालय खोल्ने अवस्था आएन ।

सो समयमा कार्यालय खोल्ने अवस्था नभएपछि हालसम्म पनि उक्त कार्यालय खुल्न नसकेको विश्वविद्यालयका रजिष्ट्रार अधिकारीको भनाइ छ । अहिले पनि अतिक्रमण भएको स्थानमा गएर घर नबनाउन पटक-पटक ताकेता गर्ने गरिएको भन्दै विचौलियाले जग्गा किनबेच गरिरहेका उनले जनाएका छन् । अतिक्रमित जग्गाको विषय समाधानका लागि आयोग बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्