अर्थमन्त्री पुनद्धारा नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोस र अर्थमन्त्री वर्षमान पुनबीच सोमबार अर्थमन्त्रालयमा भेटवार्ता भएको छ । सो भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरेका छन् ।

अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनको भनाइ छ । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेको पुनले जनाएका छन् ।

त्यस्तै, ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ । यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा हामीले गरेका छौँ’, अर्थमन्त्री पुनले भने । सार्वजनिक वित्तका क्षेत्रमा सुधार र खासगरी पुँजीगत खर्च बढाउने गरी आफूले काम गर्ने उनको भनाइ छ । विश्व बैंकको लगानीमा निर्माण प्रस्ताव गरिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक पूर्वाधार निर्माण, डिजिटल नेपालसम्बन्धी आयोजनाका काम नेपालले प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री पुनले बताएका छन् ।

अर्थमन्त्री पुनसँगको भेटमा देशीय निर्देशक जार्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि ध्यानाकर्षण गराएका छन् । विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारेसमेत जार्बोसले मन्त्री पुनलाई अवगत गराएका छन् ।

उनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठकको तयारीबारे पनि मन्त्री पुनलाई जनाएका छन् । आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदानप्रदान गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्