वन डढेलो रोकथाम गर्न नवलपरासीमा विशेष अभियान सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वन डढेलो रोकथामका लागि अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि बिहीबारदेखि विशेष अभियान सञ्चालन गरिएको हो ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै यसबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुखले जानकारी दिएका छन् । सो अभियान अन्तर्गत समुदायमा वन डढेलो रोकथामसम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य सञ्चालन गरिने छन् । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्दै सप्ताहव्यापीरूपमा कार्यक्रम अगाडि बढाएको कार्यालय प्रमुख अधिकारीले बताएका छन् ।

त्यस्तै, डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन प्रमुख अधिकारीले आग्रह गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को ५८ प्रतिशत भूभाग वनजङ्गलले ढाकेको छ । ‘वनजङ्गलमा सुक्खा मौसमको समयमा आगलागी तथा डढेलोबाट हुनसक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालालाई जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ’, उनले भने ।

डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा क्षति पुर्याउने हुँदा यसको रोकथामका लागि उपभोक्ता, वन हेरालु, वन उपभोक्ता उपसमिति र नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्