काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।
शुक्रबार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राती भने देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।