पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

पाँचथरमाकाठमाडौँ । पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मंगलबारराति चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई मंगलबार राति ११ बजे चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका छन् । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए । ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए’, प्रनि कुशवाहाले भने ।

उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो । मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्