नेपालगञ्जमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुन:निर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।

वाटरपार्कको पुन:निर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताएका छन् । ‘यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ’, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, ‘वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत सङ्कलनको माध्यम पनि बन्दै गएको छ ।’ नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ ।

त्यस्तै, चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीको भनाइ छ । विसं २०६५ मा सुुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छ भने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र छ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ ।

यस्तै, १ करोड ८ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले जानकारी दिएका छन् । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालको भनाइ छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको उनी बताउँछन् । पर्यटकले मोटरबोट चढ्न रु २ सय ५० तिर्नुपर्छ ।

१२ सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्