काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भएपनि यसले मूर्तरुप लिन भने सकेको छैन ।

बालाजु, पाटन र भक्तपुरमा सञ्चालित औद्योगिक क्षेत्रहरुको जीर्ण पूर्वाधार संरचना, घना मानवबस्तीमा सुरक्षा जोखिम र प्रदुषणको असरलगायत कारण स्थानान्तरण गरिनुपर्ने आवाज उठ्दै आएको छ । तर, एकातर्फ सरकारको योजना कार्यान्वयनमा सुस्तता देखिएको छ भने अर्कोतर्फ उद्योगीहरु पनि स्थानान्तरण गर्दा सिर्जना हुनेसक्ने समस्यामा सरकारको साथ खोजिरहेका छन् । यी क्षेत्रका उद्योगलाई कहाँ, कसरी र कहिले सार्ने टुङ्गो लाग्न सकेको छैन । पहिलोपटक आर्थिक वर्ष २०७३-७४ को बजेट वक्तव्यमार्फत् सरकारले उपत्यकाभित्रका उद्योगहरु सार्ने नीति सार्वजनिक गरेको थियो । उक्त आर्थिक वर्षको बजेटमा दुई वर्षभित्र काठमाडौँ उपत्यकामा रहेका औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने व्यवस्था मिलाइने उल्लेख थियो । बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रका उद्योगलाई हेटौँडाको मयुरधापमा सार्ने योजना सरकारको थियो । तर, मयुरधाप औद्योगिक क्षेत्र आफै बन्ने नबन्ने टुङ्गो नलाग्दा त्यहाँ उद्योग सार्ने योजना कार्यान्वयन हुन सकेन ।

त्यस्तै, केन्द्र सरकारको मात्र नभई प्रदेश सरकारले पनि उपत्यकाका उद्योगहरु सार्नका लागि सहजीकरण गर्ने नीति लिएको छ । बागमती प्रदेशको आर्थिक ऐन, २०७९ मा काठमाडौँ उपत्यकाभित्र रहेका उत्पादनमूलक उद्योगहरुले बागमती प्रदेशका अन्य जिल्लामा उद्योग स्थानान्तरण गरेमा उद्योगको नाममा जग्गा खरिद गर्दा लाग्ने घरजग्गा रजिष्ट्रेसन शूल्कमा ५० प्रतिशत छुट दिइने उल्लेख छ । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक ऐनमा पनि यो व्यवस्था राखिएको छ । तर, उद्योगहरु आफै उपत्यका छोडेर जान नचाहँदा सरकारको नीतिको प्रभावकारिता उल्लेख्य रुपमा देखिन सकेको छैन ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद कँडेल उपत्यकाभित्रका औद्योगिक क्षेत्र सार्ने तत्काल कुनै योजना नरहेको बताउँछन् । ‘केही समयअघि यो विषय आएको थियो । तर अहिले नयाँ औद्योगिक क्षेत्र निर्माणबारे मात्रै हामीले सोचिरहेको छौँ । उपत्यकाका उद्योगलाई बाहिर सार्ने कुनै योजना छैन’, उनले भने ।

बालाजु औद्योगिक क्षेत्रमा १ सय ३५ वटा उद्योग सञ्चालनमा छन् भने चारवटा निर्माणाधिन छन् । त्यसैगरी, पाटनमा १ सय ११ वटा उद्योग सञ्चालनमा र चार वटा निर्माणाधिन छन् । भक्तपुरमा ३८ वटा सञ्चालनमा र एउटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् । मयुरधाप औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अझै स्वीकृत हुन नसकेको र त्यहाँ औद्योगिक क्षेत्र बन्ने हो वा होइन भन्नेसमेत टुङ्गो नलागेको निमित्त महाप्रबन्धक कँडेले जनाएका छन् । उपत्यकाका औद्योगिक क्षेत्र अन्यत्र सार्नका लागि उद्योगीहरु आफै पनि तयार छैनन् । उद्योग सार्नेक्रममा सिर्जना हुने दायित्वको बोझ उद्योगहरुले बोक्न चाहिरहेका छैनन् । ‘उद्योगीहरुको ठूलो लगानी भएको हुन्छ । स्थानान्तरण गर्दा हुने खर्चको क्षतिपूर्ति कसरी दिने भन्ने स्पष्ट भएन । एउटा उद्योग भत्काएर अन्यत्रै लैजानु सजिलो काम होइन’, कँडेलले भने, ‘पहिले यो विषय बजेटमा आउँदा उद्योगीहरुबाट केही विरोध पनि आयो । तत्कालीन समयमा उनीहरुले उद्योग सार्दा लाग्ने लागतको क्षतिपूर्ति सरकारले दिन्छ वा उद्योगी आफैले ब्यहोर्नुपर्छ भन्ने स्पष्टता खोजेका थिए । त्यसपछि सरकारको नीति तथा कार्यक्रम र बजेटमै यो विषय आउन छाड्यो ।’

यस्तै, उपत्यकाको घना बस्तीका बीचमा रहेका उद्योगबाट सिर्जित प्रदुषणको असर, दशकौं पूराना संरचना जीर्ण अवस्थामा पुग्दासमेत मर्मतसम्भार नहुनु, उद्योगका लागि नविनतम प्रविधि जडान गर्न नसक्नुलगायत कारण औद्योगिक क्षेत्र सार्नुपर्ने आवश्यकता महसुस सरकारले गरेको थियो । मुलुकको पहिलो औद्योगिक क्षेत्रका रुपमा रहेको बालाजु औद्योगिक क्षेत्र स्थापना भएको ६० वर्ष बित्यो । सरकारी निकायबाट त्यहाँ ४० भन्दा बढी औद्योगिक भवन, २० भन्दा बढी गोदाम, अन्य ग्यारेजसहितका २३ भन्दा बढी भवन बनाइएका छन् । निजी क्षेत्रबाट पनि संरचना बनाइएका छन् । त्यस्तै, विसं २०२० सालमै स्थापना भएको पाटन औद्योगिक क्षेत्र र विसं २०३६ सालमा स्थापना भएको भक्तपुर औद्योगिक क्षेत्रका पूर्वाधार संरचना जीर्ण बनिसकेका छन् । ‘स्थापनाकालमा औद्योगिक क्षेत्र वरिपरि बस्ती थिएनन्, तर अहिले बस्ती बसेका छन् । जसकारण वातावरणीय समस्याका विषयहरु पनि आएका छन्’, निमित्त महाप्रबन्धक कँडेल भन्छन, ‘न्यून वातावरण प्रदुषण हुनेगरी कसरी व्यवस्थापन र सञ्चालन गर्न सकिन्छ भन्नेबारे औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले काम गरिरहेको छ ।’

काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने वा नगर्ने र निश्चित प्रकृतिका उद्योगलाई मात्रै सार्नेबारे पनि बेला बेला बहस हुने गरेको छ । ‘यहाँका उत्पादनमूलक उद्योग सार्ने र सेवा क्षेत्र तथा सूचना प्रविधिका क्षेत्रका उद्योग मात्र त्यहाँ राख्ने भन्ने विषय पनि उठ्ने गरेका छन् । तर, फेरि कुनै समस्या आए अत्यावश्यक वस्तु तथा सेवा बाहिरबाट ल्याउन सकिँदैन भन्ने पनि छ । औद्योगिक क्षेत्र भनेको उद्योगहरुका लागि हो, सेवा क्षेत्रलाई किन दिने भन्ने पनि हुनसक्छ । यहाँभित्रका उद्योगहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर एकीकृत धारणा बन्नसकेको छैन’, कँडेलले भने । उद्योगहरुको स्तरोन्नति तथा क्षमता बृद्धि गर्दा सहुलियत दिने नीति अहिले सरकारले लिएको भएपनि स्थानान्तरणका लागि भने कुनै योजना तथा कार्यक्रम नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमारका अनुसार नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने, उद्योगहरुलाई नयाँ प्रविधिका उपकरण जडानलगायतका काममा सहुलियत दिने नीति सरकारको रहेपनि स्थानान्तरण नै गर्नेबारे भने कुनै योजना छैन ।

बालाजु र पाटन आद्योगिक क्षेत्रका अधिकांश पूर्वाधार संरचना ६० वर्ष पुराना छन् । जीर्ण अवस्थामा पुगिसकेका भवन पुन:निर्माण गरिनुपर्ने वा उद्योगीहरुलाई नै बनाउन सरकारले अनुमति दिनुपर्ने माग उद्योगीहरुले राख्दै आएका छन् । जीर्ण भवनका कारण उद्योगका कामदारलाई सुरक्षा जोखिम छ । औद्योगिक फोहोर व्यवस्थापनको समस्या छ । ढल व्यवस्थापनका लागि पनि समस्या रहेको छ । धेरै वर्षअघि बनेका यी औद्योगिक क्षेत्रमा ढल व्यवस्थापनका लागि अब खाली जग्गा छैन । धुँवा निस्किने उद्योगहरुमा अलिकति धुँवा आउने बित्तिकै स्थानीयहरुले गुनासो गर्ने गरेका छन् । विद्युत्, पानीलगायतका पूर्वाधारहरु पनि जीर्ण अवस्थामा छन् । जीर्ण अवस्थामा रहेको पूर्वाधारहरुलाई मर्मतसम्भार गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग पर्याप्त स्रोत साधन नरहेको निमित्त महाप्रबन्धक कँडेल बताउँछन् । ‘नयाँ संरचना निर्माण र मर्मतसम्भारका लागि हामीसँग भएको स्रोत साधनले भ्याउँदैन । भाडा पर्याप्त छैन । सरकारको स्रोतमा भर पर्नुपर्ने हुन्छ । आफ्नै आम्दानीले पूर्वाधार मर्मतसम्भार गर्नसक्ने अवस्थामा हामी छैनौँ’, उनले भने ।

यी ओद्योगिक क्षेत्रको भाडा समायोजनसम्बन्धी विवाद पनि लामो समयदेखि सुल्झिन सकेको छैन । अहिले यो विषय अदालतसम्म पुगेको छ । हरेक पाँच वर्षमा भाडा समायोजन गर्ने प्रावधानअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गतवर्ष भाडा बढाउने निर्णय गरेको थियो । तर उद्योगीहरुले त्यसको विरोध गरे । उच्च अदालत पाटनबाट लिमिटेडको पक्षमा फैसला भएको र अदालतको आदेशको पूर्णपाठ आएपछि भाडा निर्धारणसम्बन्धी प्रक्रिया अघि बढाइने कँडेलले जनाएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समिति सदस्य तथा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहिरा पाठक पनि उपत्यकाका औद्योगिक क्षेत्रका संरचना जीर्ण बन्दै गएको र यसको पुन:निर्माण आवश्यक रहेको जानकारी दिएका छन् । ‘६० वर्षअघि परिकल्पना गरिएका औद्योगिक क्षेत्रका संरचना जीर्ण बनिसकेका छन् । केही धरापको अवस्थामा छन् भने कतिपय संरचना पूरानो प्रविधिका लागि मात्र उपलब्ध छन् । आधुनिक प्रविधिको मेसिन राख्नका लागि उपलब्ध छैनन्’, पाठक भन्छन्, ‘जीर्ण र काम नलाग्ने बनिसकेको पूर्वाधार संरचनालाई कि सरकारले बनाउनुपर्छ कि त उद्योगीहरुलाई नै बनाउन दिनुपर्छ ।’ केही उद्योगका पूराना प्रविधिका मेसिनहरु अहिले काम नलाग्ने र नयाँ प्रविधिले प्रतिस्थापन भइसकेका छन्, तर तिनको व्यवस्थापन हुन नसकेको उनी बताउँछन । उनले उपत्यकाका उद्योगहरुलाई बाहिर सार्ने भनेर बजेटमा आएको विषयमा उद्योगीहरुसँग सल्लाह नभएको उल्लेख गरेका छन् ।

‘उद्योग भनेको एकपल्ट लगाइसकेपछि आजीवन त्यहाँ हुन्छ भन्ने मान्यता छ । डेराजस्तो सारिरहन सकिँदैन । यदि अन्यत्र सार्ने नै हो भने त्यसपछि सर्न नपर्ने भन्ने स्पष्टता चाहिन्छ । भोलि त्यहाँ पनि बस्ती बस्दैन भन्ने सुनिश्चितता सरकारले गर्नुपर्छ’, पाठक भन्छन, ‘वातावरण प्रदुषण बढी भयो र जनघनत्व बढी भएका ठाउँमा उद्योगहरु सञ्चालन गर्नु चुनौतीपूर्ण हुन्छ भन्ने तर्क सुनिन थालेका छन् । तर, सरेर जाने ठाउँमा ती समस्या आउँदैनन् भन्ने कुराको सुनिश्चितता के छ ?’ औद्योगिक क्षेत्र सार्दा केही उद्योगहरु सार्न सक्ने अवस्था रहेपनि सबै उद्योगलाई भने बाहिर सार्नै नसकिने तर्क पाठकको छ । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका काष्ठकला, धातु तथा मूर्तिकलासँग सम्बन्धित उद्योगहरुको उदाहरण दिनुहुँदै पाठकले ती उद्योगहरु बाहिर सार्ने हो भने अस्तित्व नै सकिने दाबी गर्छन् । त्यस्तै, उद्योगहरु सार्नका लागि लामो समय चाहिने भएकाले सार्ने अवधिभरको आर्थिक दायित्व कसरी व्यहोर्ने भन्ने पनि समस्या रहेको उनको भनाइ छ ।

यसैगरी ‘हामीले उत्पादित वस्तु ग्राहकसम्म पुर्‍याउने भनेर सम्झौता गरेका हुन्छौँ । यदि त्यो पुर्‍याउन सकिएन भने हामीलाई मात्र होइन बजारलाई पनि समस्या हुन्छ । विदेशबाट वस्तु आयात गरेर त्यसको माग पूर्ति गर्नुपर्ने अवस्था आउँछ’, उनले भने । भूकम्प, नाकाबन्दी, कोभिड-१९ महामारीलगायत कारण समस्यामा परेको उद्योगहरु अहिले विस्तारै तङ्ग्रिने क्रममा रहेको पनि उनी बताउँछन् । ‘राजनीतिक उथलपुथल धेरै भयो । करका दरमा, बैंकका ब्याजदरमा स्थिरता देखिँदैन । सरकार परिवर्तन हुँदा नीति पनि परिवर्तन हुने अवस्था छ । एउटा निश्चित नीति बनाएर जानुपर्छ’, उनले भने । कुनै उद्योगी व्यवसायीले गरेको खराब कामका कारण समग्र निजी क्षेत्रलाई नै खराब भन्न नहुने पनि पाठकले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्