‘देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । निजी क्षेत्रका सम्पूर्ण सङ्घसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपिल गर्दै उनले भने, ‘यहाँहरूले देखाएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक छ ।’ लगानी बढाउन र रोजगारी सृजना गरी उत्पादन बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राज्यका तीन वटै तहका सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको जनाएका छन् ।

त्यस्तै, सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै प्रधानमन्त्री दाहालले निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी बिस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको बताएका छन् । प्रधानमन्त्री दाहालले भने, ‘देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा धेरै चुनौती र सीमा छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको छ ।’

सरकारले गरेको तयारीबाट लगानीका नयाँ-नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवं प्रतिबद्धताबमोजिम लगानी भित्र्याउन महत्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री दाहालले बताउँछन् । उनले भने, ‘अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्