बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रको चासो, बन्दीपुरलाई जीपलाइनको हब बनाउन पहल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएका छन् । स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएका छन् ।

कूल रु ६ अर्ब २९ करोड लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म रु ४ अर्ब ५५ करोड लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ । बन्दीपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दीपुर-४ बरालथोकबाट भानु-१ नयाँबस्तीसम्म २ हजार ८ सय मिटर दूरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् । उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै, शर्माले वातावरणीय प्रभाव मूल्याङकन (ईआइए) कार्य भइरहेको भन्दै उक्त जीपलाइन विश्वकै लामो निर्माण हुने दाबी गरेका छन् । ईआइए कार्य पश्चात् निर्माणले गति लिने उनी बताउँछन् । बन्दिपुर-४ को केबलकार चोक नजिक निर्माणधीन १ सय ४० मिटर छोटो दूरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १५-२० दिनभित्रसो जीपलाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको शर्माको भनाइ छ ।

उनले भने, ‘बन्दीपुरलाई जीपलाइन र साइक्लिङिग क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ ।’ अध्यक्ष शर्माका अनुसार सोही वडाको केबलकार प्राङ्गणमा ८५ मिटर दूरीको स्काइ साइक्लिङिग निर्माण सम्पन्न भइसकेको छ । निर्माणधीन जीपलाइन र साइक्लिङिग एकैसाथ सञ्चालनमा ल्याइने योजना रहेको छ ।

टुरिजमले बन्दीपुर-४ केबलकार चोकस्थित तल्लो स्टेशनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’, अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुराँ निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ । निर्माणाधीन १७ तलाको पाँचतारे होटल ‘क्वीन टावर’ को करिब ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जनाएका छन् ।

‘टुरिजमले केबलकार संरचना निर्माण गरी आंशिक सञ्चालनमा ल्याइसकेको छ । उक्त केबलकारमा २१ वटा प्यासेन्जर क्याबिन रहेका छन्’, उनले भने । केबलकारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्म १ हजार ७ सय मिटर दूरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर टुङ्गिनेछ । समुद्री सतहदेखि करिब १ हजार १ सय मिटर उचाइमा उक्त होटल निर्माण गरिएको छ । टुरिजमले सबै संरचना निर्माण गरी सञ्चालनमा ल्याइएसँगै बन्दीपुरको पर्यटन क्षेत्रमा आमूलपरिवर्तन आउन सक्ने अपेक्षा गरिएको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्