सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै महासंघद्धारा बिरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने ध्येयबाट नियमावलीको प्रस्ताव ल्याएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताए ।

उनले सामुदायिक वनको अधिकार कटौति गर्नेगरी तयार गरिएको वन नियमावली २०७८, प्रदेश वन ऐन, संरक्षित वन क्षेत्र बिस्तार, तेहेरो कर र वन पैदावारमा लगाइएको प्रतिवन्धको बिरुद्धमा आन्दोलन भएको र यो आन्दोलन सबै तहका सरकारले प्रस्ताव फिर्ता लिइ संशोधन नगरेसम्म जारी रहने चेतावनी दिए । अध्यक्ष पाठकले महासंघले आगामी माघ २८ गतेसम्म नियमित बिरोध प्रदर्शन गर्ने र सो मितिसम्म पनि सरकारले वन नियमावली ऐन नसच्याए फरक ढंगबाट देशभर आन्दोलन गर्ने बताए । उनले सरकारले अपारदर्शी ढंगबाट सामुदायिक वनको प्रयोग सिमित व्यक्तिको स्वार्थपूर्तिका लागि हुनेगरी वन ऐनको प्रस्ताव ल्याएको आरोप समेत लगाए ।

अध्यक्ष पाठकले प्रदेश र संघीय सरकारले सामुदायिक वनको अधिकारलाई नियन्त्रण गर्ने गरी ऐनहरु ल्याएकोप्रति महासंघको ध्यानाकर्षण भएको बताए । महासंघले वन पैदावर तत्काल खुल्ला गर्न, विदेशी काठलाई रोक्न, स्वदेशी वन पैदावरहरुलाई उपभोग गर्ने वातावरण बनाउन र फेरि पनि संरक्षित क्षेत्र घोषणा गर्न तथा समुदायको अधिकार हनन् नगर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्