हावाहुरीले पुर्यायो ऐतिहासिक कोतघरमा क्षति, पुनःनिर्माण गरिए पनि फेरि जीर्णोद्वार गर्नुपर्ने स्थिति

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । हावाहुरीले गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पुयाएको छ । केही दिनअघि आएको हावाहुरीका कारण रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो । कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्रीका अनुसार सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको हो । “सिङ्गै रुख कोतघरमाथि परेका भए झन ठूलो क्षति निम्तने थियो”, उनले भने । चौबिसे राज्यका पालाको उक्त कोतघर रुग्ण अवस्थामा छ ।

विसं २०४० तिर पुनःनिर्माण गरिए पनि फेरि जीर्णोद्वार गर्नुपर्ने स्थिति छ । “यसै त कोतघर धेरै पुरानो भइसक्यो, भूकम्पले पनि चर्काएको थियो”, अध्यक्ष खत्रीले भने , “संरचना कमजोर भइसकेकाले सामान्य मर्मतसम्भारले मात्र हुँदैन, पुनःनिर्माण नै गर्नुपर्छ ।” उनले बर्सातका बेला कोतघरमा थप क्षति हुन नदिन बाहिरी सुरक्षा र सामान्य मर्मतको काम थालिएको बताए । अध्यक्ष खत्रीले कोतघरका लागि दीर्घकालीन संरक्षण योजना चाहिएको उल्लेख गरे ।  वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले कोतघरको पुनःनिर्माणका लागि नगरमार्फत गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालय र सङ्घ सरकारसँग सहयोग माग गरिएको बताए ।

ऐतिहासिक र पुरातात्विक महत्वको भएकाले कोतघरको पुनःनिर्माण त्यसैअनुसार गर्नुपर्ने उनको भनाइ छ । यसअघि पनि नगरकै लगानीमा कोतघर संरक्षण योजनाले गति लिएको भन्दै वडाध्यक्ष खत्रीले अहिले पनि त्यसलाई प्राथमिकतामा राखिने बताए । आव २०७६-७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो ।कोतघरलाई आकर्षक सम्पदास्थलका रुपमा चिनाउने लक्ष्यसहित नगरपालिका संरक्षणमा जुटेको हो । नगरपालिकाको पहलमा कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनेका छन् ।

कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन डिपिआर पनि तयार पारेको छ । नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार बनाइने बताए । उनले हटिया बजार मध्यपहाडी पुष्पलाल लोकमार्ग देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि पनि डिपिआर बनेको उल्लेख गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्