३ महिनामा खोले साग बिक्रीबाट ३ लाख रुपैयाँ आम्दानी गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक रु ३ लाख भन्दा बढी आम्दानी गर्न सफल भएका हुन् ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताएकी छिन् । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनको भनाइ छ । ‘चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो । यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन’, उनले भने, ‘चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।’ महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै रु ३ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताएकी छिन् ।

मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिएकी छिन् । ‘यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ’, उनले भनीन्, ‘पालुङ्गे सागको माग फागुन-चैतमा अझै धेरे हुने गर्दछ ।’ गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारू बताउँछन् ।

‘यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ’, उनले भने । खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् । छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग पनि भन्ने गरिएको किसान थारूको भनाइ छ । ‘कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ’, उनले भने ।

पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्